विर्तामोड । मेचीनगर नगरपालिका १२ ईंटाभट्टा नजिकमा रहेको सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयमा सीसीटिभी क्यामेरा उद्घाटन गर्ने दिनमा विद्यार्थी तथा शिक्षकमा एक किसिमको उत्साह थियो । विहान १० बजे उद्घाटन कार्यक्रम तय भए पनि विद्यार्थीहरु विहान करीब ८.३० बजेदेखि नै आउँदै थिए । १० बज्दा नबज्दा झापाका जिल्ला शिक्षा अधिकारी आइपुगे । उनको जिम्मेवारी थियो सोही सीसीटिभी क्यामेराको उद्घाटन गर्ने ।

कार्यक्रममा कुनै तामझाम थिएन । तर तामझाम नभए पनि उक्त उद्घाटन कार्यक्रम अहिलेसम्म झापामा कुनै पनि सम्पन्न निजी विद्यालयले समेत गर्न नसकेको प्रविधिलाई विद्यालयमा जोडिएको उद्घाटन कार्यक्रम थियो । शिक्षा अधिकारीको अनुहारमा समेत एक प्रकारको खुशी थियो । जताततै भत्केको, विग्रेको गुनासा सुन्ने गरेका उनले सो दिन निकै एउटा सामुदायिक विद्यालयको निकै राम्रो प्रगतिको शुरुआत गर्दै थिए ।
उक्त सामुदायिक विद्यालयभित्र पस्दा लाग्छ कुनै एउटा सुविधा सम्पन्न निजी विद्यालयभित्र प्रवेश गरिँदैछ । विद्यार्थीहरुको पोषाक कुनै निजी विद्यालयको भन्दा कम छैन । उद्घाटन कार्यक्रमका दिन विद्यार्थीहरु एक आपसमा गफ गर्दै थिए, ‘फ्रम टुडे वी ह्याभ सीसीटिभी क्यामेरा इन आवर क्लासेस ।’

तर उक्त सीसीटिभी क्यामेरा जडान गर्न त्यति सहज थिएन । सबभन्दा पहिला शिक्षक शिक्षिकालाई मनाउन जरुरी थियो । तिनै शिक्षक शिक्षिका हुन् विगतमा पनि पढाउने । अभिभावनहरुले दैनिक रुपमा विगतमा विद्यालय प्रशासनलाई भन्ने गर्थे ‘अनुशासन कायम गराउनु पर्यो । विद्यालयको पढाई दैनिक खस्किन थाल्यो ।’ अहिले पनि अधिकांश विषयहरुमा अध्यापन गर्ने तिनै शिक्षक छन् । प्रधानाध्यापक हेम खड्का भन्छन्, ‘सबभन्दा पहिला त शिक्षक मानिदिनु पर्दाे रहेछ । जुन मैले पनि सोचेको थिइन ।’ उनले सीसीटिभी क्यामेरा जडान गर्न मान्नु शिक्षकहरुले इमान्दारीपूर्वक पढाउँछु भनेर एक किसिमले कबोल गरेको अनुभूति सुनाए ।
सीसीटिभी क्यामेरा उद्घाटनमा विद्यालयको कार्यालय कोठाबाट शिक्षकहरुले बोल्दा सबै कक्षाका विद्यार्थीहरुले सुनिरहेका थिए । प्रत्येक कक्षामा कार्यालयबाट शिक्षकले दिएको निर्देशन सुनिने व्यवस्था विद्यालयले मिलाएको छ । साउण्ड सिस्टमको व्यवस्था गरेको छ । सहायक प्रधानाध्यापक हेमेन्द्र निरौलाका अनुसार कुनै शिक्षक अनुपस्थित भएको दिन कार्यालयबाटै त्यो कक्षाका विद्यार्थीलाई कुनै शैक्षिक काम दिइनेछ । जसका कारण अन्य कक्षाहरुको पढाई प्रभावित नहुने उनले बताए ।

ठूल्ठूला भवनले मात्र सुविधा दिन सकिन्छ भन्ने सोचलाई उक्त विद्यालयले गलत सावित गरिदिएको छ । पहिला भएकै भवनलाई आधुनिक बनाएर आधुनिक कक्षाहरुको व्यवस्था गरेको छ । प्रत्येक कक्षा कोठा विशेष किसिमले बनाइएका छन् । प्रत्येक्ष कक्षा कोठाभित्रै खानेपानीको धारा जडान गरिएको छ । साना कक्षाका कोठाहरु समूह सिकाइ सहज हुने किसिमले विद्यार्थी बस्ने व्यवस्था मिलाइएको छ । पढाई पनि आधा विषय अंग्रेजी माध्यममा आधा नेपाली माध्यममा हुने गर्छ । प्रधानाध्यापक हेम खड्का भन्छन्, ‘हाम्रा विद्यार्थी जस्तो सुकै अवस्थामा प्रतिष्पर्धा गर्न सकुन भन्ने हाम्रो उद्धेश्य हो ।’
अभिभावकहरुको विश्वास गुमाउँदै गएका सामुदायिक विद्यालयहरुमाझ आदर्श माध्यमिक विद्यालय नमूना विद्यालयको रुपमा विकसित हुँदै गएको छ । पछिल्लो समयमा हरेका कक्षा कोठा सीसी टिभी क्यामेरा तथा साउण्ड सिस्टम जडान गरेको उक्त विद्यालयमा बर्षेनी विद्यार्थीको संख्या समेत बृद्धि हुँदै गएको छ । सामुदायिक विद्यालयमा अनुशासन कायम नहुने, पढाई राम्रो नहुने जस्ता आरोपहरु अभिभावक तथा विद्यार्थी लगाइरहँदा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीले सीसीटिभी क्यामेराले विद्यार्थीका क्रियाकलापको निगरानी कार्यालयबाटै गर्न सकिने दाबी विद्यालयको छ ।

झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले आदर्श माविको उक्त काम सराहनीय भएको बताए । उनले भने, ‘विद्यालयले पाउने आर्थिक श्रोत उत्तिकै हो । तर यो विद्यालयले उक्त श्रोतको उचित व्यवस्थापन गरेको छ ।’ प्रधानाध्यापक खड्काले विद्यार्थीमाझ हुने लैंगिक हिंसाका घटनालाई समेत निरुत्साहित हुने बताए । नयाँ जमाना अनुसार प्रविधिमैत्री बन्नका लागि उक्त विद्यालयले सीसीटिभी क्यामेरा र साउण्ड सिस्टम जडान गरेको प्रधानाध्यापक हेम खड्काले जानकारी दिए ।
देशभरका धेरै सामुदायिक विद्यालयले विद्यार्थी नपाउँदा एक आपसमा गाभिनुपर्ने अवस्थामा उक्त विद्यालयले गरेको प्रगति उदाहरणीय भएको अभिभावकहरु बताउँछन् । यस बर्ष मात्र नयाँ अढाई सय विद्यार्थी भर्ना भएका प्रधानाध्यापक खड्काले जानकारी दिए । अहिले १ हजार १ सय ५० छात्र छात्रा त्यहाँ अध्ययनरत छन् ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी उषा लिम्बुले आफ्नो विद्यालयको प्रगतिमा आफूलाई गर्व लागेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्कूलको प्रगतिमा धेरै निजी विद्यालयका विद्यार्थीले आँखा लगाएका छन् । मलाई त गर्व लाग्छ यो विद्यालयमा पढ्न पाएकोमा ।’ चार बर्ष अगाडि उक्त विद्यालयको एसएलसी परीक्षाको परिणाम १७ प्रतिशत थियो ।
जब विद्यालयले फड्को मार्न थाल्यो, अर्काे त्यो प्रतिशत ३४ मा पुग्यो । त्यस्पछि ४५ प्रतिशत र यसपाली कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुनु नपरेको विद्यालयका शिक्षकहरु बताउँछन् । जिल्ला शिक्षा कार्यालयले गत बर्ष बाल कक्षामा सर्वाेत्कृष्ट ठहर गर्दै उक्त विद्यालयलाई पुरस्कृत समेत गरेको थियो भने गत बर्ष नै उक्त विद्यालयका प्रधानाध्यापक खड्काले शिक्षा पदक समेत प्राप्त गरेका थिए ।