झापा- झापा क्षेत्र नं. २ का नेकपा (एमाले) उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि सम्बन्धी विवादलाई असामयिक र नियोजित प्रचारको संज्ञा दिएका छन्।
सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले सन्धि राष्ट्रघाती नभएको स्पष्ट गर्दै निर्वाचनको मुखमा आफूविरुद्ध भ्रम फैलाउने प्रयास भएको आरोप लगाए।
घिमिरेले सन्धि सम्पन्न हुँदा आफू कुनै निर्णायक पदमा नरहेको उल्लेख गर्दै भने, “म त्यसबेला हस्ताक्षरकर्ता थिइनँ, अहिले आएर मलाई जोडेर गरिएका प्रचारहरू प्रायोजित हुन्।”
केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनलाई ‘महाकाली सन्धिको हस्ताक्षरकर्ता’ भन्दै प्रश्न उठाइएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले संसदमा सन्धि ‘सन्धि हो कि समझदारी’ भन्ने विषयमा लामो बहस भएको स्मरण गर्दै, एमालेले आयोग गठन गरी प्रतिवेदन संसदमा पारित गराएको बताए।
महाकाली नदीको पानीमा नेपाल र भारतको समान अधिकार सुनिश्चित भएको सन्धिले राष्ट्रहित विपरीत केही नगरेको उनको भनाइ छ।
प्रतिस्पर्धीहरूले भिडियोलाई राजनीतिक हतियार बनाएर भ्रम फैलाएको भन्दै घिमिरेले यसलाई ‘भ्रमको खेती’ गरिएको बताए। उनले तथ्यलाई बङ्ग्याएर जनतामा भ्रम छर्ने कार्य अनुचित भएको टिप्पणी गरे।
२०५३ सालमा एमालेभित्र महाकाली सन्धि विषयमा ठूलो विवाद भएको थियो। केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष सन्धिको समर्थनमा थियो भने वामदेव गौतम र सिपी मैनाली पक्ष यसको विरोधमा उभिएको थियो।
घिमिरे सुरुदेखि नै ओलीका निकट विश्वासपात्र मानिँदै आएका र सन्धि अनुमोदन गराउने अभियानमा ओली पक्षलाई साथ दिएको एमाले नेताहरू बताउने गरेका छन्।
