काठमाडौँ — परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूका लागि विशेष सावधानी अपनाउन ६ बुँदे निर्देशन जारी गरेको छ।
मन्त्रालयले त्यहाँका नेपालीहरूलाई स्थानीय सुरक्षा निकायहरूले जारी गरेका सल्लाह तथा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाली नागरिकहरूलाई सकेसम्म घरभित्रै बस्न, उच्च सतर्कता अपनाउन र आफ्नो बसोबास क्षेत्रमा रहेका अन्य नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन अनुरोध गरिएको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित निकायको पूर्वअनुमति बिना कुनै पनि यात्रा नगर्न समेत मन्त्रालयले सचेत गराएको छ।
यसैगरी, इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपालीहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्मका लागि आफ्नो यात्रा स्थगित गर्न आग्रह गरिएको छ।
मन्त्रालयले काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभ र दोहास्थित नेपाली दूतावासहरूसँग नियमित सम्पर्कमा रहन सुझाव दिएको छ।
मध्यपूर्वका अन्य देशहरूमा कार्यरत नेपालीहरूलाई पनि स्थानीय सुरक्षा मापदण्ड र सावधानीका उपायहरू पूर्ण रूपमा पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।
