झापा- झापा जिल्लामा भएका दुई अलग-अलग दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन्।
गौरादह नगरपालिका–३ जामबाडीमा शुक्रबार राति खाटबाट लडेर ४१ वर्षीया होमकुमारी कार्कीको मृत्यु भएको छ।
स्थानीय तेजबहादुर कार्कीकी श्रीमती होमकुमारी आफ्नै टिनको छानो र टाटीको बेरा भएको एक कोठे घरमा सुतिरहेको अवस्थामा खाटबाट लडेकी थिइन्।
मृतक कार्की लामो समयदेखि छारे रोगबाट पीडित रहेको खुलेको छ। प्रहरीका अनुसार हिजो बिहान कानुनी प्रक्रिया र पोस्टमार्टम सम्पन्न गरी शव अन्त्येष्टिका लागि छोरालाई जिम्मा लगाइएको छ।
यसैगरी, बिर्तामोड–५ स्थित दीपा ओलीको घरमा भइरहेको विवाह कार्यक्रमका लागि टेन्ट टाँग्ने क्रममा एक कामदार लडेर घाइते भएका छन्।
घाइते हुनेमा भारतको दार्जिलिङ जिल्ला खोरीबारीका ३० वर्षीय विप्लव मण्डल रहेका छन्। हिजो बिहान ११ बजे भएको उक्त दुर्घटनामा मण्डलको दाहिने खुट्टा भाँचिएको छ।
उनको हाल बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
