झापा- आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्र (बालेन) शाहले आज झापामा शक्ति प्रदर्शनसहित ‘रोड शो’ गरिरहेका छन्।
आज बिहान १०:०० बजे चन्द्रगढी एयरपोर्ट ओर्लिएलगत्तै नेता शाहले झापाका विभिन्न स्थानहरूमा मतदाताहरूसँग साक्षात्कार गर्दै चुनावी र्यालीको नेतृत्व गरेका छन्।
निर्वाचन जिल्ला सचिवालयका मिडिया संयोजक राजेन्द्र खनालका अनुसार, यो रोड शो निम्न मार्गहरू भएर अगाडि बढिरहेको छ।
रोड शोको सुरुवात चन्द्रगढी एयरपोर्टबाट भएको हो। काँकरभिट्टा, बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदर्शी, पृथ्वीनगर, शर्णामती, झापा गाउँपालिका र सुरुङा बजार हुँदै दमकमा पुगेर कार्यक्रम समापन हुने खनालले बताए।
विशेष गरी रास्वपाबाट झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका बालेन शाहलाई हेर्न र समर्थन गर्न सडकमा उल्लेख्य जनसहभागिता देखिएको छ।
‘घण्टी’ चुनाव चिन्ह अंकित झण्डाहरू र समर्थकहरूको नाराबाजीले झापाको चुनावी सरगर्मी बढाएको छ।
