काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान फेरि पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो।
पारिवारिक स्रोतका अनुसार आज बिहानै ६ बजेदेखि नै प्रहरी टोली उनको निवास वरिपरि तैनाथ थियो। प्रहरीले बिहान पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पुर्जीमा प्रसाईंमाथि ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’ मा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको जानकारी दिइएको छ।
यसअघि पनि प्रसाईं गत ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी १३ फागुनमा मात्रै रिहा भएका थिए। रिहा भएको केही दिनमै उनी पुनः प्रहरी फन्दामा परेका हुन्।
