झापा- झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह र सोही पार्टीकी उम्मेदवार एवं निवर्तमान उपसभामुख इन्दिरा राना मगरबीच बिर्तामोडमा विशेष भेटवार्ता भएको छ।
हिजो दमकमा आफ्नो उम्मेदवारी दर्ता गराएर साँझ बिर्तामोड आइपुगेका शाहले क्षेत्र नम्बर २ की उम्मेदवार राना मगरसँग भेट गरी चुनावी तालमेल र रणनीतिका विषयमा छलफल गरेका हुन्।
भेटका क्रममा दुई उम्मेदवारबीच चुनावी माहोललाई थप प्रभावकारी बनाउने र एक-अर्काको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा संवाद भएको बुझिएको छ।
शाहको सचिवालयका अनुसार उम्मेदवार राना मगरलाई निर्वाचनमा थप बल पुर्याउन र पार्टीको पक्षमा जनलहर सिर्जना गर्न बालेनसहितको टोली झापामा सक्रिय भएको हो।
पेशाले इन्जिनियर रहेका बालेन शाहलाई जिताउन झापाका स्थानीय इन्जिनियरहरूले पनि ऐक्यबद्धता जनाउँदै चुनावी अभियानमा सघाउने घोषणा गरेका छन्।
हिजो बिर्तामोड–१ स्थित कलाकार निश्चल बस्नेतको निवासमा बसेका शाह आज बिहानैबाट पुनः दमकतर्फ लागेका छन्।
