झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ठूलो परिमाणका हतियार र गोलीगठ्ठा शुक्रबार फेला परेका छन्।
दमक नगरपालिका वडा नं. १ स्थित बुद्ध टोल नजिकै रहेको रतुवा खोला किनारको काँसघारीमा यी हतियारहरू बेवारिसे अवस्थामा फेला परेका हुन्। स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए।
बरामद गरिएका हतियारहरूमा इन्सास राइफल र ठूलो संख्यामा गोलीहरू रहेका छन्। प्रहरीका अनुसार म्याग्जिनसहितका दुई थान इन्सास राइफल (नम्बर ३११०३३६१ र ३११०३३६४) र म्याग्जिन नभएको एक थान इन्सास राइफल (नम्बर ३११०३५१२) फेला परेका छन्।
यसैगरी, सोही स्थानबाट विभिन्न किसिमका १३९ राउण्ड गोलीहरू पनि बरामद गरिएको छ। जसमा .३०३ राइफलको १३४ राउण्ड जंगी राउण्ड, एसएलआर (SLR) को ५ राउण्ड र इन्सास राइफलको २० राउण्ड गोली रहेका छन्।
फेला परेका यी सबै हतियार र गोलीगठ्ठालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
