झापा – बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीले जबरजस्ती करणीको मुद्दामा अदालतबाट सफाइ पाएका छन्।
झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटी विरुद्धको दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर गर्ने फैसला सुनाएको हो।
नेपाल सरकार वादी रहेको यस मुद्दामा शिवाकोटीमाथि आफ्नै घरमा घरेलु कामदारका रूपमा रहेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको थियो।
सोही अभियोगमा २०८१ पुस १९ गते उनी विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।
यसअघि, झापा जिल्ला अदालतले थुनछेक बहसका क्रममा शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर, उक्त आदेश विरुद्ध शिवाकोटीले गरेको पुनरावेदनमा उच्च अदालत इलाम इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
इलाका प्रहरी कार्यालय अनारमनीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता र बालबालिका ऐन विपरीतको कसुरमा मुद्दा चलाएको थियो।
यद्यपि, आजको अन्तिम फैसलामा अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई सबै आरोपबाट मुक्त गरिदिएको छ।
