झापा- झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको एनेस्थेसियामा प्रयोग हुने घातक औषधि भरिएको सिरिन्ज (सुई) प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
बिहीबार साँझ भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको घाँटीमा ‘प्रोपोफोल’ नामक औषधि सुईमार्फत शरीरमा पठाएर हत्या गरिएको प्रहरीले जनाएको छ। शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने यो औषधिको उच्च मात्राका कारण ढकालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले आफ्नै कलेजमा पढ्ने एक कनिष्ठ (जुनियर) छात्राका बुबा ढकाललाई निसाना बनाएका थिए।
साँझ ६:२० बजेतिर घरमै बसिरहेका ढकालको घाँटीमा सिंहले आफूले ल्याएको केमिकलसहितको सिरिन्जले एक्कासी प्रहार गरेका थिए। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका ढकाललाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार यो हत्या रिसिबीका कारण योजनाबद्ध रूपमा गरिएको पाइएको छ। अभियुक्त सिंहले मृतककी छोरीलाई प्रेम प्रस्ताव राखेको र सो प्रस्ताव अस्वीकार गरेपछि दुईबीच सम्बन्ध बिग्रिएको बुझिएको छ। सिंहले यसअघि पनि ती छात्राको फोटो सम्पादन (एडिट) गरेर बदनाम गर्ने प्रयास गरेको र सो विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत परेको खुलेको छ।
सोही रिस फेर्न सिंह बिहीबार बिहानैदेखि ढकालको घर आसपास रेकी गर्दै ‘शिक्षक चाहिएको’ बहाना बनाएर घर पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले सिरिन्जमा प्रयोग गरिएको औषधिको थप प्रयोगशाला परीक्षण भइरहेको जानकारी दिए।
पक्राउ परेका सिंहमाथि मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
