काठमाडौं- आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ।
आयोगका अनुसार विभिन्न कानुनी प्रावधान, उम्मेदवारको योग्यता र दलहरूबाट प्राप्त जानकारीका आधारमा जाँचबुझ गर्दा ती उम्मेदवारहरू अयोग्य ठहरिएका हुन्।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार, सबैभन्दा धेरै २१ जना उम्मेदवारहरू कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका कारण हटाइएका छन्।
त्यसैगरी, प्रदेश सभाको समानुपातिक बन्दसूचीमा समेत नाम कायम रहेका २५ जना र निर्वाचन आयोगलाई बुझाउनुपर्ने जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि सूचीबाट हटाइएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार, उमेरको हदबन्दीका कारण पनि केही उम्मेदवारहरू बाहिरिएका छन्। २५ वर्ष उमेर पूरा नभएका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनाको नाम हटाइएको छ।
त्यस्तै, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना र महिला उम्मेदवार पेस गर्नुपर्ने ठाउँमा पुरुष उम्मेदवारको नाम सिफारिस भएका १ जनाको नाम पनि आयोगले बदर गरिदिएको छ।
यसका साथै, सम्बन्धित राजनीतिक दलहरू आफैँले नाम हटाउनका लागि निवेदन दिएका १० जना र एकभन्दा बढी प्राविधिक कारणले अयोग्य देखिएका २ जना उम्मेदवारहरूको नाम पनि बन्दसूचीबाट हटाइएको छ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, यस सम्बन्धी विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
