झापा- झापाको कमल गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको छ।
कमल गाउँपालिका वडा नं. २ स्थित जयकुमार अधिकारीको दुई तले पक्की घरमा मध्यरात १२:१५ बजे अपरिचित समूहले ढुङ्गा प्रहार गरेको हो।
उक्त घरको माथिल्लो तलाको पूर्वतर्फ रास्वपाको सम्पर्क कार्यालय रहेको छ भने दक्षिणतर्फ घरधनीको परिवार बसोबास गर्दै आएका छन्।
अज्ञात व्यक्तिले प्रहार गरेको ढुङ्गा लागेर घरको एउटा झ्यालको सीसा फुटेको छ। ढुङ्गा प्रहारबाट मानवीय क्षति भने भएको छैन।
घटनाको जानकारी पाएलगत्तै आज बिहान ९ बजे प्रहरी चौकी तोपगाछीबाट प्रहरी सहायक निरीक्षक धनकुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान र बुझ्ने कार्य भइरहेको जनाएको छ।
रास्वपाको सम्पर्क कार्यालय रहेको भवनलाई लक्षित गरी ढुङ्गा प्रहार भए पनि कार्यालयभित्र भने कुनै भौतिक क्षति नभएको बताइएको छ। प्रहरीले तोडफोडमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको छ।
