झापा- नेकपा (एमाले)बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्।
प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभालाई बिर्तामोडमा सम्बोधन गर्दै उनले देश अहिले असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरे।
घिमिरेले गत भदौ २३ र २४ गते भएको राजनीतिक विध्वंशपछि यो निर्वाचन घोषणा गरिएको स्मरण गराउँदै वर्तमान सरकारलाई ‘असंवैधानिक’ को संज्ञा दिए।
“यो निर्वाचन सधैँको जस्तो सामान्य चुनाव होइन,” उनले भने, “संविधानमाथि प्रहार गरी बनाइएको असंवैधानिक सरकारको जगमा यो घोषणा गरिएको छ।”
संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारकर्मीहरूको भूमिका अहम् हुने चर्चा गर्दै पूर्वसभामुखसमेत रहेका घिमिरेले पत्रकारहरूलाई जिम्मेवार भएर कलम चलाउन आग्रह गरे।
संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको अवस्थामा सत्य र तथ्यका आधारमा कलम चलाएर मुलुकलाई सही दिशा दिनु पत्रकारहरूको दायित्व भएको उनको तर्क थियो।
