हिरोशिमा, १४ जेठ । बाराक ओबामा दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमाथि गरेको एटम बम प्रहारपछि हिरोशिमाको भ्रमण गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् ।
शुक्रवार हिरोशिमामा आयोजित ‘स्मृति सभा’मा बोल्दै ओबामाले ६ अगस्ट १९४५ (एटम बम खसालिएको दिन) कहिल्यै पनि बिर्सन नसकिने बताए । तर अमेरिकाले गरेको उक्त आक्रमणका लागि ओबामाले माफी भने मागेनन् ।
एटम बम प्रहारबाट जोगिएका व्यक्तिहरू भेला भएको उक्त समारोहमा राष्ट्रपति ओबामाले संसारबाट आणविक हतियार निर्मूल गर्नुपर्ने बताए । त्यसअघि राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री शिन्जो आबेले शान्ति स्मारक बाटिकामा पुष्पगुच्छा अर्पण गरेका थिए । हिरोशिमामा एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो र दुई दिनपछि नागासाकीमा भएको दोस्रो आक्रमणमा ७४ हजारले मृत्युवरण गर्नुपरेको थियो ।
यसैबीच, चिनियाँ संचार संस्था सिसिटिभीले सार्वजनिक गरेको तस्वीरमा आणविक आक्रमणमा पीडित एक वृद्ध ओबामाको अँगालोमा रोइरहेको भावुक दृश्य सार्वजनिक भएको छ ।