विर्तामोड । पूर्वकै प्रमुख व्यापारी केन्द्र बिर्तामोडसँगै जोडिए पनि भौतिक पूर्वाधारमा पछि परेको महेन्द्र ज्योति माध्यमिक बिद्यालय गरामनी–९ ले स्वर्णमहोत्सव तयारी थालेको छ ।
बिद्यालय स्थापना भएको ५० औं बर्षगाँठको अवसर पारेर माघ १२, १३ र १४ गते महोत्सव आयोजना गर्न लागिएको आइतवार बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव सफल पार्न बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराज भट्टराईको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समारोह समिति निर्माण गरी काम थालिएको छ । समारोहलाई सम्पन्न गर्न आठवटा बिषयगत समिति गठन गरी काम भइरहेको संयोजक भट्टराईले बताए ।
महोत्सवमा पुनःमिलन तथा सम्मान, स्रोत केन्द्र स्तरीय हाजिर जवाफ, शिक्षकहरुबिच भलिवल प्रतियोगिता लगायत साँस्कृतिक कार्यक्रम हुने बिद्यालयका प्रधानाध्यपक प्रेमबहादुर लिम्बुले बताए । उनका अनुसार महोत्सव उद्घाटनका दिन स्मारिका पनि बिमोचन गर्ने कार्यक्रम छ ।
करिव ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सव सफल पार्न शिक्षकहरुले स्वागतद्वार निर्माण गरिदिने भएका छन् । स्वागतद्वार बनाउने काम भइरहेको छ । बिर्तामोडसँगै जोडिएको सो बिद्यालय भौतिक पूर्वाधार विकासमा पछि परेको पूर्व बिद्यार्थी पुष्प प्रसाईले बताए ।
शैक्षिक गुणस्तर तथा बिद्यालयमा कम्पाउण्ड घेरावारा गर्न आर्थिक स्रोतको अभाव झेल्नु परेको अभिभावकहरुले बताएका छन् । डेढ बिगाहा क्षेत्रफल रहेको सो बिद्यालयमा ६ सय बिद्यार्थी अध्ययनरत छन् भने २२ जना शिक्षक कर्मचारी कार्यरत छन् ।