खबरमञ्च, काँकरभिट्टा । शनिबारदेखि पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ् शिल्ड खेलकूद प्रतियोगिताको आठौं संस्करण सुरु हुँदैछ । उक्त प्रतियोगिता उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब बिष्टले गर्दैछन् । झापामा पहिलो पटक आयोजना हुन लागेको उक्त प्रतियोगिताकोे तयारी पूरा भएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । उक्त पूर्वाञ्चल खेलकूद विकास समितिको आयोजना तथा झापा खेलकूद विकास समितिको संयोजनमा काँकरभिट्टामा हुन लागेको हो । झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले झापाको इतिहासमा प्रथम पटक सञ्चालन हुन लागेको प्रतियोगितालाई सभ्य, भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न आम झापावासीलाई आग्रह गरे । अध्यक्ष थापाले क्षेत्रीय प्रतियोगितामा भाग लिन पूर्वाञ्चलका विभिन्न जिल्लाबाट निर्णायक, प्राविधिक, खेल पदाधिकारी तथा खेलाडीहरु गरी करिब १६ सयको सहभागिता रहने बताए ।
झापा खेलकूद विकास समितिका सदस्य एवं प्रतियोगिता प्रचार प्रसार उप समितिका संयोजक अर्जुनकुमार कार्कीका अनुसार प्रतियोगितामा समावेश गरिएका खेलका विभिन्न ६ वटा विधाहरुमध्ये काँकरभिट्टा उमाविको खेल मैदानमा एथ्लेटिक्स,नयाँ बस पार्कमा भलिबल र कबड्डी, काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा कराँते तथा मेची सामुदायिक कभर्ड हलमा तेक्वान्दो र उसु खेलको प्रतिष्पर्धा गराइने छ ।
वरिष्ठ कराँते प्रशिक्षक मदन उप्रेतीले जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट हुँदै क्षेत्रीय प्रतिष्पर्धामा भाग लिई छानिएका १०२ जना खेलाडीहरुले आगामी जेठ १९,२० र २१ गते राजधानीमा आयोजना हुने राष्टिय राष्टपति रनिङ् शिल्ड खेलकूद प्रतियोगितामा सहभागिता जनाउने पत्रकारहरुलाई जानकारी दिए ।
खेलाडीलाई दिनको खर्च पाँचसय रुपैयाँ मात्र
बढदो महंगीका बाबजुद पूर्वाञ्चल क्षेत्रीय राष्टपति रनिङ् शिल्ड खेलकूद प्रतियोगितामा भाग लिन आउने खेलाडीलाई सरकारले दैनिक पाँच सय रुपैयाँ खर्च दिने भएको छ । दैनिक पाँच सय रुपैयाँले उनीहरुले नास्ता, खाना तथा सुत्ने खर्चसमेत पुर्याउनुपर्ने खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए ।
थापाले भने, ‘त्यति खर्चले त पुग्दैन । तर सरकारले त्यतिमात्र पैसा पठाएपछि पाँचसय रुपैयाँ मात्र दिन बाध्य छौं ।’