काठमाडौँ। यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार मातृका पौडेल सम्मानित भएका छन्।
रिपोर्टस क्लब नेपालले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार नेपाल प्रेस डट कमका प्रधान सम्पादकसमेत रहेका पत्रकार पौडेललाई प्रदान गरिएको हो।
क्लबको रजत जयन्तीका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेललाई उक्त पुरस्कार प्रदान गरेका हुन्।

अढाइ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।
यस्तै ‘उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार २०७९’ बाट फोटो पत्रकार राजन काफ्ले सम्मानित भएका छन्। उनलाई प्रधानमन्त्री दाहालले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशी २५ हजार रुपैँया रहेको छ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय काफ्ले नेपाल टेलिभिजन, च्यानल नेपाल, कान्तिपुर टेलिभिजनलगायका सञ्चार संस्थाहरुमा काम गरिसकेका छन्।
स्वतन्त्र फोटोग्राफरका रुपमा देशका विभिन्न ठाउँका परिवेश संकलनमा लागेका काफ्ले पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा स्वकीय फोटोग्राफरका रुपमा रहेर काम गरेका थिए। काफ्ले हाल ओलीको निजी सचिवालयमा स्वकीय फोटोग्राफरका रुपमा कार्यरत छन्।

कला, खेलकुद तथा ल्याण्ड्सकेप फोटोग्राफिमा दख्खल राख्ने काफ्ले पछिल्लो समय फोटोग्राफि प्रशिक्षणमा समेत सक्रिय छन्।
यस्तै, नेपालको आर्थिक क्षेत्रको सम्मानित ब्यक्तित्व स्वर्गिय तेजेन्द्र खड्का र सुन्तली खड्काको नामबाट स्थापित तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवम् न्यू विजनेश एज (मासिक) का प्रधान सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।
नेपालको आर्थिक र व्यवसायिक पत्रकारिताको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहेका लम्सालले छापा र अनलाइन मिडियामार्फत अभूतपूर्व क्षमता देखाएर दूरदराजका गाउँसम्मका नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सो क्रममा पत्रकार लम्सालले उक्त पुरस्कारबाट प्राप्त राशि एक लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् । सभामुख देवराज घिमिरेमार्फत आविष्कार केन्द्रका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हरि सिलवालको हातमा प्रदान गरिएको हो ।यसबाहेक कार्यक्रममा अन्य फरक फरक विधामा झण्डै एक दर्जन पत्रकारलाई सम्मान गरिएको छ।
२४ वर्षअघि पत्रकार ऋषि धमलाले स्थापना गरेको क्लबले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ। जुन सम्मान पाउनेमा अधिकांश सञ्चारकर्मी रहने गरेका छन्। क्लबले पत्रकारितामा क्रियाशीलहरुका लागि विभिन्न विधामा पुरस्कार दिँदै आएको छ।
रजन जयन्त्रीको अवसरमा आयोजित विशेष कार्यक्रममा सभामुख देवराज घिमिरे, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका विभिन्न दलका नेताहरुको उपस्थिति थियो।
