एजेन्सी । अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो । उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ ।
त्यस्तै, पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन् । खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए ।
