सत्ता साझेदार दलहरुबीच भएको सत्ता बाँडफाँटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बाग्मती प्रदेशको सभामुख पाउने भएको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको छलफलमा बाग्मतीको सभामुख राप्रपालाई दिने सहमति भएको हो।
बाग्मतीबाहेक राप्रपाले लुम्बिनी प्रदेशको उपसभामुख पनि पाउने भएको छ।
बैठकमा सहभागि एक नेताका अनुसार राप्रपाले बाग्मती प्रदेशको नेतृत्व मागेपनि नपाउने अवस्था बनेपछि उसलाई प्रदेश सरकारहरुमा सम्मानजनक स्थान दिने सहमति भएको छ।
केन्द्रीय सत्ता समीकरणमा महत्वपूर्ण मानिएको राप्रपाले केन्द्रमा भने चारवटा मन्त्रालय दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाइसकेपछि हुने मन्त्रीपरिषद् पुनर्गठनमा राप्रपा सामेल हुने बताइएको छ। तर अहिलेसम्म तीनवटा मन्त्रालयमा मात्र कुरा मिलेको छ। राप्रपाले दाहााल नेतृत्वको सरकारमा उपप्रधासहित महत्वपूर्ण र कामकाजी मन्त्रालयको नेतृत्व पाउने भएको छ। पर्यटन, उर्जा र सहरी विकास राप्रपाले पाउनसक्ने मन्त्रालय रहेको बताइएको छ।