काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुमवासीलाई अहिले नहटाउन काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहलाई नहटाउन चेतावनी दिएको छ।
आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुमवासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी–गैरसरकारी निकायलाई भनेको हो।
‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न-नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ। आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो।
सुकुमवासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौं महानगरपालिका डोजर लिएर थापाथली पुगेको थियो। बस्तीमा डोजर चलाउन खोजेपछि यहाँका स्थानीयले विरोध गरेका थिए। स्थानीयले ढुंगामुढा गर्दा नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका थिए।