काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त भएको सीसीटीभीको हार्डडिक्सलाई आज हेर्दैछ।
संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। ६ दिनको दिनमा ल्याबले हार्डडिक्स फिर्ता गरेको छ।
समितिको सोमबार बसेको बैठक सकिएपछि फरेन्सिक ल्याबबाट लाहाछापसहित शिलबन्दी गरेको हार्डडिस्क प्राप्त भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
‘ल्याबबाट शिलबन्दी भएका हार्डडिस्क सोमबार ढिला आइपुग्यो। यसको रिपोर्ट पनि खामबन्दी छ। अब मंगलबार बिहान ८ बजेदेखि शुरु हुने बैठकमा खोल्नेछौं। यसपछि जेठ १४ गतेको फुटेज रिकभर भए नभएको थाहा होला।,’ सचिव अर्यालले भने ,‘ल्याबबाट जिम्मेवारी कर्मचारीलाई पठाउन मात्रै भनेको थियो। रिपोर्ट के आयो त्यसबारे भनिएन। अब बैठकमै थाहा हुन्छ। ’
समिति सचिव अर्यालकाअनुसार विषयहरु गम्भीर रुपमा प्रवेश गरेको छ, छलफल भइरहेको छ तर अझै निष्कर्ष केहि निक्लिएको छैन। ‘बैठकमा हालसम्म प्राप्त सुझावलाई आधार मानेर अनुसन्धानको दायरा कति विस्तार गर्ने र कतिमा सिमित राख्ने भन्ने कुराको छलफल भएको छ। यसमा टुङ्गो लाग्न सकेको छैन,’ उनले थपे। समितिले आइतबार गृह मन्त्रालयसँग जेठ १४ र १५ गतेको सिंहदरबारको मुल गेट दक्षिण र पश्चिमद्वारको सीसीटीभी फुटेज माग गरेको थियो।
विशेष छानविन समितिले काम सुरु गरेको १० दिन बितिसक्दा पनि प्रमाण जुटाउन नसकेपछि असार २८ गते सदनमा समय थपको माग गरेको थियो। समितिबाट सिफारिस भएर आए अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा ७ दिन म्याद थप्न प्रस्ताव गरेपछि सदनले अनुमोदन गरेको थियो। जबकी तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। समितिले असार २८ मा काम थालेको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।