काठमाडौं । नेपालको संकटोन्मुख अर्थतन्त्रप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कार्यालय र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले संयुक्त रूपमा आयोजना गरेको ‘देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समधानका उपाय’ विषयक अन्तक्र्रियामा मन्त्री, सचिव, बैंकर, व्यवसायीलगायतले बिग्रिँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले देशमा उत्पादनशील क्षेत्र बलियो बनाउन वित्तीय क्षेत्रलाई समेत बलियो बनाएर लगानी बढाउन जरुरी रहेको बताए ।
कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने, उत्पादनको लागत घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
‘वर्तमान अर्थतन्त्रको अवस्थालाई गम्भीर रूपमा मनन गर्दै आर्थिक एवं वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका व्यावसायिक तथा वित्तीय क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्न सरकार तयार छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा खबर छ।