काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वनासु रघुनाथ घिमिरेलाई बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन राति अबेलासम्म प्रयोग गरेको अन्नपूर्ण पोस्ट्मा समाचार आएपछि राजनीतिक र अन्य क्षेत्रमा खैलाबैला मच्चियो।
समाचार छापिएको भोलिपल्ट जेठ ३१ मा प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरुद्ध गर्यो। प्रमुख सचेतक विशाल भट्टराईले सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र संसदीय समिति बनाउनुपर्ने कडा माग राखे। नेता योगेश भट्टराईले पनि विशेष समय लिएर कडा मन्तव्य दिए।
एमालेले यसबारे अर्थमन्त्रीको जवाफ मात्र मागेन, राजीनामासमेत माग्यो। अन्ततः संसद्को कारबाही अघि बढ्न सकेन।
तर, संसद्मा एमालेको आवाज अर्को दिनदेखि क्रमशः घट्दै गयो। सीसीटीभी फुटेज र संसदीय छानबिनको मागबाट ऊ टाढा देखिँदै गयो। कारण एउटै थियो, सीसीटीभीले यस्तो रहस्य खुल्थ्यो– बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेका व्यक्ति कुनै व्यापारिक घरानाबाट परिचालित थिए। त्यो यस्तो व्यापारिक घराना हो, जसको सबै राजनीतिक दलसँग उत्तिकै घनिष्ठ दोस्ती छ।
उच्च स्रोतका अनुसार पूर्वनासु घिमिरेले तिनै व्यापारीको ललितपुरस्थित घरमा बसेर बजेटका मूलभूत विषय ‘ड्राफ्ट’ गरेका थिए। जेठ १४ गते राति अर्थमन्त्रीले विज्ञका रूपमा पूर्वनासु घिमिरेसँगै प्रयोग गरेका ‘सीए साप’ भनिएका व्यक्ति त्यही व्यापारिक समूहका ‘फाइनान्स डाइरेक्टर’ थिए। उनी भारतीय नागरिक हुन्।
उक्त घरमा अर्थमन्त्री शर्मा, अर्का वरिष्ठ मन्त्री र एक राज्यमन्त्रीसहित ती व्यापारीको बाक्लो जमघट हुने गरेको पाइएको छ। उक्त भेटघाटमा अर्को व्यापारिक घरानाका दुई जना पनि नियमित पुग्ने गरेको स्रोतले बतायो। बजेट तिनै घरानाका लाभमा केन्द्रित रहेको पाइएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।