काठमाडौं । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् ।
सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् ।
यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।
सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने निर्णय गरेको थियो।
सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।