काठमाडाैं – माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सुरु हुँदैछ। आउँदो शुक्रबारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ।
राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ। पहिलो दिन अनिर्वाय अङ्ग्रेजी विषयकाे परीक्षा हुनेछ।
बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ।
७ वटै प्रदेशमा सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
नियमित तालिका अनुसार चैतमा एसईई हुँदै आएको थियो। सरकारको निर्णय अनुसार वैशाख ३० गते पालिका चुनाव हुने भएकाले त्यसअघि नै परीक्षा गर्ने गरी बोर्डले मिति तय गरेको थियो।
यसअघिका दुई शैक्षिक वर्षमा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो।