काठमाडौं । एमसीसी राष्ट्रहितविपरीत भन्दै माओवादी केन्द्रको शुक्रबारको बैठकमा फरक मत राख्ने नेताहरूको संख्या बढेको छ। यसअघि पूर्व एकता केन्द्र मसाल समूहले मात्रै विरोध गर्दै आएकोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर पूर्वसभामुख कृष्णबहादुर महरा र प्रमुख सचेतक देव गुरुङले पनि फरक मत राखेका छन्।
प्रचण्डले एकल निर्णय गरेर पार्टीलाई एमसीसी अनुमोदनका पक्षमा उभ्याएको भन्दै पूर्व एकता केन्द्र मसाल समूहका नारायणकाजी श्रेष्ठसहित नेताहरूले विरोध जनाउँदै आएका थिए। प्रचण्डले श्रेष्ठलाई ‘पार्टी छोडेर जान’ भनेपछि पार्टीमा विवाद बढेको थियो। विवादबीच शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड पक्षधर नेताहरूले पनि लिखित रूपमै फरक मत राखेका हुन्।
एमसीसीको विपक्षमा पार्टीभित्र जनमत बढ्दै गएपछि अध्यक्ष प्रचण्ड भने नेताहरू फकाउनतिर लागेका छन्। प्रचण्डले संसद्बाट एमसीसी अनुमोदन गर्नुपर्ने स्थिति पार्टीका लागि रहर नभई बाध्यता भएको तर्क गर्दै आएका छन्।
केन्द्रीय कमिटी बैठकमा प्रचण्डले भने, ‘एमसीसी पारित नभएको भए माओवादी केन्द्र धुलोपिठो हुन्थ्यो। कांग्रेससँग मिलेर एमालेले हामीलाई कर्नरमा पुर्याउने र सभामुखविरुद्ध महाअभियोग लगाउने काम हुन्थ्यो।’ गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेर निकास निकालिएको भन्दै उनले कार्यकर्तालाई थुम्थुम्याउन खोजेका थिए।
बैठकमा अध्यक्ष प्रचण्डको भनाइप्रति नेता नारायणकाजी श्रेष्ठले आत्मसमर्पणवादी भन्दै कडा टिप्पणी गरे। पार्टीका नेता कृष्णबहादुर महरा, नेता श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेलले एमसीसी पारित देश हितविपरीत रहेको भन्दै विरोध गर्दै आएका छन्।
यी नेताका समर्थकले एमसीसीको विपक्षमा देखाएको विचारले फरक मत राख्नेको संख्या बढेको देखिएको छ। नेता महरा, पोखरेल र गुरुङले एमसीसी राष्ट्रहितविपरीत रहेको भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई लिखित रूपमै पेस गरेको केन्द्रीय सदस्य सुदन किराँतीले बताए।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।