काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले अश्लील गालीगलौज गर्दै एक युवालाई ‘अपहरण र ज्यान मार्ने’ भनी दिएको धम्कीपूर्ण अडियो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा मन्त्री आलेले ती युवालाई ‘सुन्नै नसकिने’ गालीगलौज गरेका छन्।
भिडियो कलमा मन्त्री आलेले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध किन कमेन्ट गरेको भन्दै ती युवासँग सुरुमा प्रश्न सोधेका छन्। अछाम घर भई भारतको मुम्बई बस्ने जगत वलीले ‘मन्त्रीबाट त्यस्तो आस गरेका थिएनौ’ भन्ने जवाफ दिन्छन्। लगत्तै मन्त्री आले आक्रोशित हुँदै गालीगलौजमा उत्रिन्छन्। उक्त अडियो/भिडियो तीनै युवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
मन्त्री आलेले मुम्बईको ठेगाना माग्दै ती युवालाई ‘ठाउँको ठाउँ उडाइदिने’ धम्की दिएको भिडियोमा सुन्न सकिन्छ। पछिल्लोपटक केही राम्रा काम गरेको भन्दै मन्त्री आले चर्चामा छन्।
मन्त्री आलेको सचिवालयले पुरानो भिडियो तोडमोड गरेर सार्वजनिक गरिएको टिप्पणी गरेको छ। ‘मन्त्री आलेसँग भएको पुरानो भिडियो संवाद तोडमोड गरेर सार्वजनिक गरिएकोमा ध्यानाकर्षण भएको छ’ आलेका स्वकिय सचिव हेमन्त रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त भिडियो आलेको भए पनि पुरानो भएको रेग्मीले बताएका छन्। एमाले सांसदहरूले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका बेला बोलेको संवाद अहिले सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।