खबरमञ्च, ०५ बैसाखः झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो संस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्ध सहज जीत दर्ता गरेको गर्यो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा उत्कृष्ट शुरुवात गर्यो । आर्मी सेटमा फर्कने प्रयास गरेपनि पुलिसको उत्कष्ट स्पाईक र ब्लकपछि दोस्रो सेट पुलिसले नै २५–१८ ले जित्यो । लगातार दोस्रो सेट पनि पुलिसले जितपछि आर्मीमाथी थप दबाब परेको थियो । पुलिसले आर्मीविरुद्धको तेस्रो सेट पनि २५–१४ ले जितेसँगै तेस्रो संस्करणको उपाधि आफ्नो बनायो ।
विजेता पुलिसले ३ लाख १५ हजार नगद पुरस्कार तथा ट्रफि हात पार्यो । पहिलो पुरस्कारको राशी सोनिया घरघरेडी खरिद विक्री केन्द्र दुहागढी ६ का प्रबन्ध निर्देशक नरेन्द्र मेचे (गछाम) ले उपलब्ध गराएका हुन् । उपविजेतामा चिक्त बुझाएको आर्मीले नगद १ लाख ७५ हजार र ट्रफि प्राप्त हात पार्यो । दोश्रो पुरस्कारको राशी रामकुमार कन्दङवाले प्रयोजन गरेका थिए ।
प्रतियोगितामा तेस्रो भएको सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले १ लाख १० हजार नगद तथा ट्रफि प्राप्त गर्यो । प्रतियोगितामा नेपाल पुलिस क्लबका कुल बहादुर थापा सर्बोत्कृष्ट खेलाडी चुनिए । थापाले नगद २५ हजार र ट्रफि हात पारे ।
त्यस्तै बिधागत उत्कृष्ट तर्फ बेस्ट स्पाइकर पुलिसका सन्जय अर्याल, बेस्ट ब्लकर आर्मीका राज कुमार थापा, बेस्ट लिफ्टर पुलिसका इम राना मगर र बेस्ट लिब्रो पुलिसका शम्सेर चन्दले हात पारे । विधागत उत्कृष्ट सबैले नगद ५ हजार पुरस्कार हात पारे । सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा महिला भलिबलको तर्फबाट कास्य पदक विजेता खेलाडी कोपीला उप्रेतीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।