काठमाडौं । कोरोना संक्रमण दर फेरि बढ्न थालेसँगै आसन्न सबै तहका परीक्षा स्थगित गर्नुपर्ने माग उठिरहेका छन्। कक्षा १२ को परीक्षा तत्काल रोक्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरिसकेको छ।
तर पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले भने कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् ।
कांग्रेस सांसद थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परीक्षा स्थगितमात्र नभइ विकल्पसहित निर्णय गर्न सुझाव दिएको बताएका छन् ।
‘स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं, ‘ उनले ट्वीटरमा लेखेका छन् ।
आफूहरुको सुझावमा प्रधानमन्त्री देउवाले सकरात्मक प्रतिक्रिया दिँदै विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने बताएको थापाले उल्लेख गरेका छन् ।