काठमाडौं । एसईई परीक्षाको परीक्षाफल साउन २५ गते भित्रमा सार्वजनिक गरिने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको हो।
यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए।
सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उनले बताए।
कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए।