विर्तामोड । समुदायबाट सञ्चालित बिर्तामोड–९ स्थित बिर्ताबजारको अनारमनी पब्लिक क्याम्पसलाई स्थानीय दाताहरुले मन खोलेर सहयोग गरेका छन् । उनीहरुले क्याम्पसको शैक्षिकस्तर उन्नतीका लागि भनेर कम्प्युटर तथा मल्टिमिडिया(प्रोजेक्टर) दिएका हुन् ।
बिर्तामोडका स्थापित ब्यवसायी तथा समाजसेवीले चार थान कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेका हुन् । रमिता प्रसाई, संगिता प्रसाई, प्रकाश शिवाकोटी, दिपेश पाठक र सुवास श्रेष्ठले ती प्रविधि क्याम्पसलाई सोमबार हस्तान्तरण गरेका छन् ।
अहिलेको सूचनाप्रविधिको आवश्यकतालाई मध्यनजर गरी पठन–पाठनमा सहयोग पुगोस् भन्ने उदेश्यले आफुहरुले कम्प्युटर प्रदान गरेको दाताहरुले बताएका छन् । कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटीले क्याम्पसको शैक्षिक स्तरोन्नति लागि आफुले पहल गर्ने बचन वद्धता ब्यक्त गरे । प्रदान गरिएका कम्प्युटर क्याम्पसले निकट भविष्यमा स्थापना गर्ने इ -लाइब्रेरीमा प्रयोग गरिने क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिए । कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।