काठमाडौँ । छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डसहित विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधानको सफल कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
सूर्य देवता र छठ माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकी छन् ।
“धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पु¥याएका छन्,” सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको मौलिक पर्व छठको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
छठको पावन अवसरले संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको नेपाली जनताको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना उपराष्ट्रपतिले गरेका छन् ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
सन्देशमा प्रधानमन्त्रीले सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।