काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले राउटे समुदायका युवतीहरू माथि यौन दुर्व्यवहार गर्नेहरूलाई हदैसम्मकाे कारबाही गर्न माग गरेकाे छ । संगठनले एक विज्ञप्ति जारी गर्दै दाेषीलाई कारबाही गर्न माग गरेकाे हाे ।
‘स्थानीय तीन जना युवाहरूले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरूको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा पीडित युवतीहरूको गोपनीयताको संरक्षण गर्दै, उनीहरूको भौतिक सुरक्षा गरी जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्नुपर्दछ । लोभ, लालच, प्रलोभन देखाई आफ्नो व्यक्तिगत फाइदा उठाउने व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरूको सम्पूर्ण सुरक्षा, गाँस, बास र कपासको तुरुन्त व्यवस्था गर्न र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपाल सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
