बिर्तामोड । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा झापाको अर्जुनधारा नगरपालिकाका एक किशोर पक्राउ परेका छन्।
अर्जुनधारा नगरपालिका ७ निवासी बालिकालाई जबरजस्ती करणी गरेको आरोप त्यही ठाउँ बस्ने १४ वर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
ती किशोरलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत वैशाख १६ गते छिमेकी दाजु पर्ने ती किशोरले बालिकालाई ललाइफकाइ आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेका थिए।
बालिकालाई करणी गरेको उनका परिवारजनले समेत थाहा पाएनन्। घटना भएको तीन दिनपछि मात्र बालिकाको दिदीले घटनाबारे थाहा पाइन्।
दिदीले घटना थाहा पाएपछि गाउँभरि हल्ला हुने डरले छरछिमेक र पीडकका परिवार घटनालाई ढाकछोप गर्नतर्फ लागे।
बालिकाको परिवारको आर्थिक अवस्था कमजोरसँगै विपन्न समुदायको रहेकोले छरछिमेक र पीडकका परिवारले उल्टै परिवारजनमाथि दबाब दिए।
छरछिमेकले दबाब दिँदा उनका आमाबुबा पनि केही बोल्न सकेनन्।
घटनाको बारेमा चौतर्फी हल्ला फैलिँदै गएपछि नगरपालिकाभित्र कै केही स्थानीय युवाले घटनाबारे थाहा पाए।
त्यसपछि ती युवाहरूले घटनालाई प्रहरीसम्म पुर्याउने योजना बनाए। पीडित परिवारलाई संरक्षण दिएर ती युवाले प्रहरीसम्म लगेर किटानी जाहेरी दिन लगाए।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय अनारमनिमा सोमबार दिउँसो किटानी जाहेरी दिएको डिएसपी थापाको भनाइ छ।