काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणको क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन् ।
अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकतामा खोप दिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेकी छन् ।
टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।