बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका २ मा दुई वटा घर जलेर नष्ट भएका छन्।
वडा नं. २ मंगलबारे बजारमा गएराति आगलागी भएको हो। आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ।
आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
स्थानीयबासी नन्दकला राईको घर र नेत्र चिमरियाको दुई घरमध्ये एक घर पूर्ण रुपमा क्षति भएको छ भने एक घर आंशिक रुपमा क्षति भएको वडा नं. २ वडाध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए।
राईको घरमा लुगा सिलाउने ‘टेलर्स’ रहेको र चिमरियाको घरमा होटल रहेकोमा कुनै पनि समान निकाल्न नपाइएको वडाध्यक्ष बस्नेतले बताए।
राति करिब साँढे १ बजेबाट सुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले बताइन्।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएका प्रहरी, स्थानीयबासी, कमल गाउँपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो।
विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।