काठमाण्डौ । चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ ।
नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ ।
केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो ।
मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संरचनाको संभावना कम भएको तथा चीन वा नेपालतर्फको मोहोडाबाट जाने आरोहीहरु सजिलै भेट हुने भएकोले सीमारेखा असंभव रहेको आरोहीहरुले बताएका थिए ।
चासोका बीच चीनले आरोहीबाट कोरोना सर्न सक्ने भन्दै आफ्नो तर्फबाट हुने सबै आरोहण नै रद्द गरेको सिन्ह्वाले जनाएको छ ।
आरोहण रद्द गरेसँग चीनतर्फबाट सगरमाथा आरोहणका लागि माथिल्लो शिविरमा पुगिसकेकाहरु पनि फिर्ता भएका छन् ।
चीनले यो वर्ष बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको थिएन । आरोहणका लागि ३८ जना चिनियाँ नागरिकले अनुमति लिएका थिए ।
नेपालले भने जोखिमकै बीच पनि बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विदेशी र नेपाली नागरिक गरी चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
अहिलेसम्म आरोहण अनुमति लिएका र उनीहरुका सहयोगी समेत गरी एक सय ७० जना भन्दा धेरैले आरोहण गरिसकेका छन् ।
अहिले आरोहणका लागि मौसम अनुकूल नरहेकोले आरोहीहरु अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।
आरोहण वा आरोहीका सहयोगका लागि सगरमाथा आधार शिविरमा गएकामध्ये अहिलेसम्म कम्तीमा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
सरकारले भने सगरमाथामा अवस्था सामान्य रहेको भन्दै जोखिम नभएको बताउँदै आएको छ ।