झापा । झापामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्दै ४ सय भन्दा बढी अक्सिजन सिलिण्डर आयात गर्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण बढिरहेको अवस्थामा अक्सिजन अभावमा कोही पनि झापालीले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले अभियानले अक्सिजन सिलिण्डर आयात गर्ने भएको हो ।
अभियानले चिनबाट ४ सय भन्दा बढी अक्सिजन सिलिण्डर आयात गर्ने अभियानका संयोजक महेन्द्र गिरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
अभियानले १ करोड रुपैयाँको लागत अनुमानमा अक्सिजन सिलिण्डर आयात गर्ने, एक्स–रे मेसिन जडान गर्ने, डाक्टरहरुसँगको परामर्श सेवा, कोभिडका बिरामीहरुलाई खानाको अभाव भए सहयोग गर्ने लगायतका कार्यक्रमहरु रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले बताए ।
अभियानका लागि विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहारा नेपाल साकोस प्रा.लि. ले १ सय वटा सिलिण्डर सहयोग गर्ने भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाज, झापा सहकारी संघ लगायत विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको अभियानका संयोजक गिरीले जानकारी दिए ।
अभियानले गत बर्ष पनि कोरोना महामारीलाई ध्यानमा राख्दै झापा, मोरङ, सुनसरीका २ हजार बढी परिवारलाई राहत वितरण, प्लज्मा बैंक स्थापना, पिसिआर परीक्षण प्रयोगशाला स्थापना लगायतका काममा सफलता हासिल गरिसकेको छ ।
सबै संघ संस्था तथा व्यक्तिगत रुपमा साथ सहयोग गर्न अभियानले आह्वान समेत गरेको छ ।