बिर्तामोड । कोरोना भाइरस संक्रमणको दोस्रो लहरले देशलाई नै गाँजी रहँदा तस्करी गरेर फाइदा लुट्नेहरू सल्बलाउन छाडेका छैनन्।
संक्रमण रोकथामका लागि जिल्ला भर निषेधाज्ञा जारी छ। तर तस्करी गर्नेहरू अवैध सामान भारतबाट ल्याएर बढी मूल्यमा बेच्नका लागि प्रयासरत् छन्।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञासहित नेपाल–भारतको खुला नाका बन्द गरिएको छ।
पछिल्लो समय सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले त्यस्ता अवैध तरिकाले भित्र्याइएको सामान बरामद गर्दै तस्करीमा संलग्न सवारी साधन नियन्त्रण लिइरहेको छ।
शुक्रबार सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित माछाको भुरा, चिनी र खैनी (सुर्ती)सहित दुई वटा छोटा हात्ती गाडी नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले शुक्रवार बिहान ३ बजे गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको अढाई क्विन्टल पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको गणका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
सो माछाको भुरा गौरीगञ्जका कारोबारी सुनिल सनहीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद माछाको भुरालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालको नेतृत्वमा अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर र स्थानीयबासीको रोहबरमा नष्ट गरिएको छ।
सशस्त्र प्रहरीले शुक्रवार बिहान ५ बजे ठूलो परिमाणको चिनी र सुर्ती समेत बरामद गरेको छ।
मे १ च ५३२९ नम्बरको छोटा हात्ती गाडीबाट ४६ बोरा चिनी र १५ बोरा बादसाह खैनी (सुर्ती) सशस्त्र प्रहरीले बरामद गरेको एसपी पाण्डेले बताए।
मोरङको सिजुवाबाट चोरी निकासी गरी भित्र्याइएको सो परिमाणको चिनी र खैनी झापाको बाटो प्रयोग गरी दमकतर्फ लैजाँदै गरेको अवस्था विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले बरामद गरेको हो।
बरामद गरिएको चिनी १ लाख ३८ हजार, खैनी ४५ हजार र गाडी ८ लाख गरी ९ लाख ८३ हजार मूल्याङ्कन तोकेर शुक्रवार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाइसकिएको छ ।