काठमाडौं । वर्षकै सबैभन्दा बढी विद्युत् खपत हुने लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्भवतः यो वर्षकै सबैभन्दा उच्च माग भएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित भएको छ।
![]()
प्राधिकरणले गत वर्षको तिहारमा वर्षकै सबैभन्दा बढी १३ सय ८५ मेगावाट पुगेको जनाएको थियो । विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठ लक्ष्मीपूजाको दिन विद्युत्को माग लक्ष्मीपूजाको दिन १ हजार ४ सय ४४ मेगावाट पुगेको र यो वर्षकै सबैभन्दा उच्च माग हुन सक्ने बताउँछन् ।
लक्ष्मीपूजाको दिन विद्युत्को माग १५ सय मेगावाटको हाराहारीमा पुग्ने अनुमान प्राधिकरणको थियो । प्रतिवर्ष १० प्रतिशतका दरले विद्युत्को माग बढ्ने विज्ञहरूले बताउँदै आए पनि यसपालि भने ५ प्रतिशतभन्दा पनि कम माग बढेको छ ।
लोडसेडिङ नभएको तथा झिलिमिलीका लागि समेत बिजुली कम खपत गर्ने एलईडी लगायतका चिमहरूको प्रयोगको कारण बिजुलीको माग कम भएको अनुमान प्राधिकरणका अधिकारीहरूको छ ।