काठमाडौं । कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले देशलाई गाँजिरहँदा त्यस्को फाइदा उठाउँदै नाका बन्द भएका बेला पनि तस्करी गर्नेहरूले आपराधिक काम जारी राखेका छन्।
संक्रमण नियन्त्रणका लागि नेपाल-भारतबीचका खुला सीमा क्षेत्र स्थानीय प्रशासनले सिल गरेको छ।
सुरक्षाकर्मीले खुला नाका सिल गरे पनि नाकाबाट हुने अवैध कारोबार भने अझै रोकिएको छैन।
सशस्त्र प्रहरीले ज्यामिरगढी नाकाबाट १० लाख बढीको भन्सार छलेको कपडा बरामद गरेको चार दिन पछि केचनाबाट ठुलो परिणामको चाइनिज स्याउ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाले जनाएको छ।
कचनकवल गाउँपालिका १ स्थित तोरीवारीबाट बिहीबार राती १० बजे एक सय कार्टुन चाइनिज स्याउ बरामद गरेको छ। सो स्याउ स्थानीय कारोबारी मनोज रायाको रहेको खुलेको छ।
उनको घरमा दशगजा नजिकै पर्छ । सीमा पिलर १२२ नजिकैबाट चाइनिज स्यायको तस्करी भइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट घेरावारि खटिएको प्रहरी टोलीले सो परिणामको स्याय बरामद गरेको हो ।
सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको स्यायको मूल्य ८० हजार रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेड क्वाटर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।
पछिल्लो समयमा केचना, घेरावारि, टाघनडुब्बा नाकाबाट ठुलो परिणामको चाइनिज स्याउको तस्करी भइरहेको छ।
त्यहाँका कारोबारीले आफू अनुकूल प्रहरीलाई सेटिङ मिलाएर नेपालबाट भारत स्याउ पठाउने र भारतबाट अवैध सरसामान भित्राउने कार्य गरिरहेको स्थानीयबासीको दाबी छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीबाट खटिएका टोलीले वैशाख २० गते ठुलो परिणामको लत्ताकपडा बरामद गरेको छ ।