मेचीनगर । बालकल्याण मावि मेचीनगर–८ मा लगाइएको सयपत्री फुल आइतबार विक्री गरिएको छ ।
विद्यालयमा सञ्चालन भएको बालकल्याण बाल क्लबले लगाएको उक्त सयपत्री फुल विद्यार्थीले बेचेका हुन् । अघिल्लो वर्षदेखि विद्यालय परिसरमा विद्यार्थीले व्यवसायिक रुपमा फुल खेती गर्दै आएका थिए ।
अघिल्लो वर्ष फुल बेचेर स्वीटर लगाउयने उदेश्य राखेका विद्यार्थीले ३० हजारको फुल बेचेका थिए । सांसद उषा गुरुङले २ लाख रुपैया सहयोग गरेपछि विद्यालयमा रहेका ३ सय ५० जनालाई निशुल्क स्वीटर वितरण गरिएको थियो ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका लागि आवश्यक सयपत्री फुलको माग बढेपछि विद्यार्थीहरु स्वत स्फुर्त काम गर्ने गरेका शिक्षक देबु बानियाँले बताए । प्रतिगोटा २५ रुपैयाका दरले विक्री गरिएको उक्त फुल आइतवार १५ हजारको विक्री भएको शिक्षक बानियाँले बताए ।
उक्त फुल काँकरभिट्टा, धुलाबारी, विर्तामोड तथा बुधवारे क्षेत्रका व्यक्तिहरुले समेत खरिद गरेका थिए । यसैगरी, उक्त फुल अभिभावकलाई समेत विक्री गरिएको थियो ।
यो बाल क्लब जिल्लाकै नमुना बाल क्बलको रुपमा पुरस्कृत भइसकेको छ ।