विर्तामोड । झापा विर्तामोडको पूर्व पश्चिम राजमार्गमा भएर बग्ने अन्दुवा खोलाको उत्तर पट्टि पनि झापा विर्तामोडका डिल्ली प्रसाईंले अर्को पुल निर्माण गरिदिएका छन् । आइतबार लक्ष्मीपूजाको साइत पारेर उक्त पुलको उद्घाटन कांग्रेस नेतृ गिरिराजकुमारी प्रसाईंले गरिन् ।
केही समय अघि उक्त खोलाको दक्षिणपट्टि विर्तामोडकै जयनारायण ढुंगानाले साइकल यात्री तथा पैदल यात्रीका लागि पुल निर्माण गरिदिएका थिए । अब उक्त स्थानमा दुईवटा पुल भएका छन् । चार पांग्रे सवारी तथा पैदल तथा साइकल यात्रीका लागि छुट्टा छुट्टै पुल निर्माण भएका छन् ।

प्रसाईंले निर्माण गरेको पुलमा सिटी रिक्सा, मोटरसाइकल, साइकल तथा पैदलयात्री गुड्न वा हिँडन पाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै झापा क्षेत्र नं २ का सांसद सुधीरकुमार शिवाकोटीले पुल निर्माणको उक्त सामाजिक काम अनुकरणीय भएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीले अब अन्दुवा पुलमा सवारी आवागमनका क्रममा हुने दुर्घटना धेरै कम हुने बताए । उक्त पुलको संरक्षण ट्राफिक प्रहरीले गर्नेछ । प्रसाईंले स्वर्गीय आमा बुबाको नाममा उक्त पुलको निर्माण गरेका हुन् ।