काँकरभिट्टा । कसैले उनलाई भारतको कोलकाता पुर्याए। तर कस्ले लग्यो उनलाई त्यहाँ भन्ने कुरा उनी नै खुलाउन चाहन्नन्।
भन्छिन्, ‘नहीँ बताउंगी।’
नुवाकोट जिल्लाको एउटा गाउँबाट चार बर्ष अघि हराएकी एउटी बालिकाको बोली हो यो।
अहिले उनी करिब १६ बर्षकी भइन्। तर उनलाई जहाँबाट उद्धार गरेर ल्याइयो, त्यो आम मानिसको कल्पना बाहिरको कुरा हो।
उनी बेश्यालयमा बेचिएकी थिइन्। उनलाई कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्वसेवा बिस्तार मञ्चले संयुक्त पहल गरेर उनलाई नेपाल ल्याइएको हो।
आइतबार झापाको काँकरभिट्टा आइपुगेकी उनको बोली सुन्दा उनले नेपाली बोल्न चटक्कै बिर्सेकी छिन्।
एक बर्ष अघि भारतको कोलकातास्थित महावाणिज्य दूतावासमा खबर आयो कि एउटा बेश्यालयमा नेपाली किशोरी बेचिएकी छिन् भन्ने।
पछि पत्ता लाग्यो उनी तिनै किशोरी हुन् जो चार बर्ष अघि नुवाकोटबाट हराएकी थिइन्।

विश्व सेवा विस्ता मञ्च तथा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अधिकारीहरूका अनुसार ती किशोरीलाई कसैले घरेलु कामदारका रुपमा भारतको कोलकाता पुर्याएका थिए।
पहिला घरमा काम गर्न भनेर लगिएको र उनी बढ्दै गएपछि बेश्यालयमा बेचिएको महावाणिज्य दूतका निजी सचिव सतिश थापाले बताए।
उनलाई केही दिन मञ्चको सेल्टर होममा राखेर केही सहज अवस्था भएपछि परिवारका सदस्यसंग भेटघाट गराउने योजना रहेको विश्व सेवा विस्तार मञ्चका इन्द्र बस्नेतले जानकारी दिए।