काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमित धरहराको उद्घाटन गरेका छन्। आज बिहान आयोजित विशेष समारोहबीच ओलीले धरहराको उद्घाटन गरेका हुन्।
सुरुमा धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै ओलीले ढोकामा राखिएको रिबन काटेका थिए। त्यसपछि लिफ्टमा चढेर २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टी गरेका थिए। धरहरा उद्घाटन भएपनि सर्वसाधारणले भने तत्काल चढ्न पाउने छैनन्। निर्माणका कार्य अझै जारी रहेकाले केही महिना अझै कुर्नुपर्नेछ।
६ वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो। शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए। कति त माथि नै थिए। तीमध्ये ६० जनाले जीवन गुमाए। सयौँ मानिस घाइते भए।
उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लाग्यो। छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको हो।