बिर्तामोड । झापाका तीनवटा शहरी क्षेत्रका शिक्षण संस्था बन्द हुने भएका छन्।
कोरोना भाइरसको संक्रमणबाट बालबालिका तथा किशोरकिशोरी प्रभावित हुने संभावना रहेको भन्दै सरकारले सोमबार शहरी क्षेत्रका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ।
झापाका मेचीनगर, विर्तामोड तथा दमक आसपासका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ। तर संक्रमणको अवस्था हेरेर अन्य शहरका विद्यालय पनि बन्द हुनसक्ने सरकारले जनाएको छ।
त्यसैगरि काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बिराटनगर, इटहरी, धरान, बीरगञ्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्तजस्ता शहर र सदरमुकामका शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको हो।
भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर कक्षा सञ्चालन गर्न नपाइने भए पनि वैकल्पिक विधि अप्नाएर कक्षा सञ्चालन गर्न/गराउन सरकारले आदेश दिएको छ।
शिक्षण संस्थाका अतिरिक्त सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा समारोह, हाटबजार, दर्शकसहितको रंगशाला र जुलुस प्रदर्शनमा पनि सरकारले रोक लगाएको छ।