शिवसताक्षी । बाह्रौ वार्षिक उत्सवको अवसर पारेर दूधे स्रोतकेन्द्र स्तरीय शैक्षिक सम्मान प्रतिष्ठानले सोमबार ६ जना शिक्षक तथा गत वर्षको तहगत परीक्षामा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण हुने ७ छात्रछात्रलाई पुरस्कृत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले स्रोत स्तरीय शैक्षिक प्रतिष्ठान केन्द्रले गरेको सम्मान कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै अन्य श्रोतकेन्द्रका विद्यालयहरुले यस प्रकारको कार्यहरु गर्न सुझाएका थिए ।
दूधेस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय, शिवसताक्षी ७ मा सम्पन्न कार्यक्रममा दूधे स्रोतकेन्द्रका २३ वटा सामुदायिक विद्यालयबाट गत शैक्षिक सत्रमा अनिवार्य र स्वेच्छिक सेवा निवृत्त भएका शिक्षकलाई सम्मान गरिएको हो ।
यसरी अनिवार्य अवकास भई सम्मानित हुनेहरुमा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेका पूर्व प्राचार्य उमानाथ दाहाल तथा रञ्जना सुब्बा, शुक्र माध्यमिक विद्यालय, चन्द्रडाँगीका पूर्व प्रधानाध्यापक मंगलसिंह राजवंशी, भानु माध्यमिक विद्यालय, लालझोडाका अर्जुनकुमार कडरिया, सतासी आधारभूत विद्यालय, दूधेका यदुनाथ दाहाल तथा शिव आधारभूत विद्यालय, चिल्लागढका दीपक गिरी रहेका छन् ।
कार्यक्रममा सम्मान ग्रहण गर्न भने उमानाथ दाहाल, यदुनाथ दाहाल तथा अर्जुनकुमार कडरिया मात्र उपस्थित भएता पनि अचानक कडरिया बिमारी भई बिर्तामोड बि.एण्ड सी अस्पतालमा उपचारका लागि लागेका थिए भने पूर्व शिक्षिका रञ्जना सुब्बा समेत बिमारका कारण उपस्थित हुन सकेकी थिइनन् ।
उपस्थित दुईलाई झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले दोसल्ला, फुलमाला अविर र सम्मान पत्रले सम्मान गरेका थिए ।
यता कक्षा १ देखि ५ सम्मबाट गत शैक्षिक सत्रको परीक्षामा उत्कृष्ट अंक ल्याई तहगत प्रथम हुने छात्र छात्रालाई जिशिअ लुर्इंटेलले नगद पुरस्कार, मेडल तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरेका थिए ।
कार्यक्रममा पूर्व शिक्षक तथा क्षेत्र नं. ५ का पूर्व सांसद तारासम याङया, नेपाल शिक्षक महासंघ, झापाका सचिव उमेश शाह, बैगुनधुरा स्रोतकेन्द्रका स्रोतव्यक्ति छबिलाल बस्नेत, नेपाल पिछडा वर्गका अध्यक्ष राजकुमार ठाकुर, दूधे स्रोतकेन्द्रका स्रोत सहायक बालकृष्ण मैनाली, ज्येष्ठ नागरिक नगर समिति, शिवसताक्षीका नरपति पाठक, लगायतको उपस्थिति र मन्तव्य रहेको थियो भने सम्मानित शिक्षकका तर्फबाट श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेका पूर्व प्राचार्य उमानाथ दाहालले आफूले स्थापना गरेको स्रोतकेन्द्र स्तरीय सम्मान प्रतिष्ठानले आफैंलाई विदा गर्दा मन गहौं भएको बताएका थिए ।
उनले समय वलवान हुने रहेछ त्यसकारण समयको महत्व बुझ्न सबैलाई सुझाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष प्रधानाध्यापक कालीप्रसाद रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष दिपककुमार न्यौपानेले स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न विद्यालयका छात्र छात्राहरुले प्रतियोगितात्मक नृत्यका साथै विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव डामकुमार कुँवरले गरेका थिए ।