बिर्तामोड । एकपछि अर्को अपराध घट्दै गएपछि झापाको बिर्तामोडमा सुरक्षा चुनौती देखिएको छ। स्थानीयवासी त्रसित छन् ।
एकपछि अर्को घटना भएपछि बिर्तामोड नगरपालिकाले बिर्तामोड नगरको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीहरु सुरक्षित भएको महसुस हुनेगरीको आबश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको छ ।

दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासीहरु अत्यन्तै दुखित र चिन्तित बनेको भन्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।
उनले बिर्तामोड नगरको शान्ति सुरक्षामाथि चुनौती देखिएको भन्दै हत्या भएका तिलक निरौला र गौतम परियारको हत्याको सत्य तथ्य पत्ता लगाई हत्यामा संलग्न अपराधीलाई यथाशिघ्र कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन् । त्यस ध्यानाकर्षण पत्रको बोद्धार्थ जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।

बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परेका थिए ।
तीन दिनअघि आइतबार विहान गाउँले होटलका संचालक निरौला मेचीनगर १२ स्थित प्रगति सामुदायिक वनको चारआली जंगलमा मृत फेला परेका थिए ।
निरौलाका हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको हो । हत्या गरेर फ्यालेको अबस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा बुधबार विहान फेला परेको हो ।
परियारले मासु पसलमा काम गर्ने गरेका थिए । प्रायः घर बाहिरै बस्ने गरेका उनी चार दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । परियारलाई अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।