काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेका कारण सरकारले चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभर वायु प्रदूषण बढेपछि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको बताए।
अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए।
वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।
धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैंसहित देशैभरकाे आकाश धुम्म बनेकाे छ। सरकारले वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ।