बिर्तामोड । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमण फैलनसक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ।
प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्तिसुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
यसवर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँदै छ।
काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घरभित्रै सीमित गरी सामाजिक, सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ। बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
यसरी सार्वजनिक स्थानमा आउँदा-जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन-२०२० अनुसार कारबाही हुने गृह मन्त्रालयले जनाएको छ।